काठमाडौं । नेपाल प्रहरी अस्पतालमा साढे दुई वर्षदेखि एमआरआई मेसिन बिग्रिएर थन्किँदा सेवाग्राही समस्यामा परेका छन् ।

आफ्ना कर्मचारी तथा तिनका परिवारको उपचारका लागि सञ्चालन गरिएको अस्पतालमै एमआरआई सेवा बन्द हुँदा उपचारका लागि आउने बिरामी बाहिर जान बाध्य भएका छन् । साढे दुई वर्षदेखि बिग्रिएको मेसिन मर्मत नगर्दा बिरामीले सास्ती खेप्नुपरेको हो ।
करिब ८० हजार प्रहरी कर्मचारीले आफ्नै अस्पतालबाट उपचार गराउँदै आएकाे छ । कर्मचारीहरुसमेत एमआरआई गर्नकाे लागि प्राइभेटमा जानुपर्ने बाध्यता छ ।
मेसिन मर्मतमा चासो नदिँदा अस्पताल पुग्ने प्रहरी परिवार मात्र नभई आम सर्वसाधारणलाई समेत समस्या भएको छ ।अहिले उक्त अस्पतालमा प्रहरी र प्रहरीकाे परिवार मात्र नभई सर्वसाधरणले पनि उपचार गराउँदै आइरहेकाे छ ।
तर उनीहरू एमआरआई गर्नकै लागि निजी अस्पताल धाउन बाध्य छन् । निजी अस्पतालमा एमआरआई गराउन महँगो शुल्क तिर्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ ।
साढे दुई वर्षसम्म पनि मेसिन मर्मतमा चासो नदिँदा सेवाग्राही अस्पतालप्रति असन्तुष्ट छन् । अस्पतालका कर्मचारीहरूले एमआरआई बाहिर गराएर आउन सुझाव दिने गरेका छन् । मेसिन कहिले बन्छ भन्ने प्रश्न गर्दा कर्मचारीहरूले जानकारी नभएको जवाफ दिने गरेका छन् ।
अस्पतालका प्रवक्ता रामेश्वर अधिकारीले मेसिन बिग्रिएको दुई वर्षभन्दा बढी भइसकेको बताए । प्राविधिक कारणले मेसिन मर्मत हुन नसकेको उनले जानकारी दिए । उनले नेपालप्रेससँग भने, ‘साढे दुई वर्षभन्दा बढी भयो मेसिन बिग्रिएर थन्किएको । अहिले अस्पतालमा एमआरआई गर्न आउनेलाई फर्काउनुपरेको छ ।’
उनका अनुसार मेसिन मर्मतका लागि रकम विनियोजन नहुँदा समस्या भएको हो । मर्मतमा कति खर्च लाग्छ भन्ने जानकारीसमेत नभएको उनको भनाइ छ । सरकारले बजेट विनियोजन गरेपछि मात्रै मर्मत सम्भव हुने उनले बताए ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभि नारायण काफ्लेले पनि अस्पतालको एकमात्र एमआरआई मेसिन बिग्रिएको पुष्टि गरे । उनका अनुसार मेसिन मर्मत गर्न धेरै खर्च लाग्ने भएकाले नयाँ मेसिन खरिद गर्नु उपयुक्त हुने देखिएको छ ।
‘मर्मतमा पनि धेरै खर्च लाग्छ । त्यसैले नयाँ मेसिन किन्ने प्रक्रियामा जाने तयारी छ,’ उनले भने ।






