कपिलवस्तु । एआईजी उमा चर्तुबेदीको सरकारी गाडीले ठक्कर दिँदा एक युवक गम्भीर घाइते भएका छन् ।

तौलिहवाको होटेल शंकर अगाडी एआईजी उमा चर्तुबेदी चढ्ने बिए ७४६० नम्बरको गाडीले भारतीय नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँदा कपिलवस्तु नगरपालिका वडा नम्बर ४ मलपरवाका १९ वर्षीय ईरफान खाँ गम्भीर घाइते भएका हुन् । यो घटना शनिबार दिउँसो सवा १ बजेतिरको हो । प्रहरीले यो घटना गुपचुप राख्न खोजेको छ । भैरहवा देखि कृष्णनगर तर्फ एआइजी चर्तुबेदीलाई लिन जादैगर्दा गाडीले मोटरसाइकललाई ठक्क दिएको हो ।
गम्भीर घाइते भएका खाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । गम्भीर घाइते भएका आफ्ना नातिको भेन्टिलेटर कक्षमा उपचार भइरहेको र अझै अचेत नै रहेको हजुर बुवा समसुल दोहाले बताए ।
उनले नातिको उपचारमा प्रहरीले वास्ता नगरेको र आफ्नै खर्चले उपचार गराइरहेको बताए । दोहा अनुसार ठक्कर दिएर गाडी घटना स्थलबाट हिँडेको थियो । प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले ठक्कर दिने गाडी प्रहरी नियन्त्रणमा रहेको बताए ।





