द हेग । सन् १९९४ को रुवान्डा नरसंहारका मुख्य संदिग्धमध्ये एक फेलिसियन काबुगाको हिरासतमा मृत्यु भएको संयुक्त राष्ट्रसंघीय अदालतले जनाएको छ । उनी ९३ वर्षका थिए । काबुगालाई दुई दशकभन्दा बढी समय फरार रहेपछि सन् २०२० मा फ्रान्सबाट पक्राउ गरिएको थियो ।

त्यसपछि उनलाई हेगलाई प्रत्यर्पण गरिएको थियो ।पछि अदालतले डिमेन्सियाका कारण उनलाई मुद्दा सामना गर्न अयोग्य रहेको निर्णय गरियो । साथै स्वास्थ्य अवस्था कमजोर भएकाले उनलाई रुवान्डा फर्काउन पनि नसकिने ठहर गरिएको थियो । कुनै पनि देशले उनलाई स्वीकार गर्न नचाहेपछि काबुगा संयुक्त राष्ट्रसंघको हिरासत केन्द्रमै बस्दै आएका थिए । अदालतले उनको मृत्युको परिस्थितिबारे अनुसन्धान गर्न आदेश दिएको जनाएको छ ।
पूर्वव्यवसायी तथा रेडियो सञ्चालक काबुगा नरसंहार प्रकरणका अन्तिम फरार अभियुक्तमध्ये एक थिए । उक्त नरसंहारमा चरमपन्थी हुतु समूहहरूले करिब ८ लाखभन्दा बढी टुट्सी र मध्यमार्गी हुतु समुदायका मानिसहरूको १०० दिनभित्र हत्या गरेका थिए ।





