काठमाण्डौ । प्रस्तावित प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाई समितिमा थप उजुरी परेको छ ।

अमेरिकामा बस्दै आएका नेपाली सेनाका पूर्व मेजर तथा अधिवक्ता प्रज्वल बस्नेतले छानबिनको माग गर्दै इमेलमार्फत् उजुरी हालेका हुन् । शर्मामाथि छानबिनका साथै उनको योग्यता र धारणा बुझ्न बस्नेतले समितिको ध्यानाकर्षण गराइएको बताए ।
निवेदनमा भनिएको छ,‘सर्वोच्च अदालतले दर्ता नै इन्कार गरेको निवेदकको उपरोक्त रिट निवेदन प्रस्तावित प्रधानन्यायाधीशसमेतको संयुक्त इजलासबाट हेर्न नभ्याइने भनी एकपटक हटाइएको र निवेदकले पटकपटक गरेको सार्वजनिक अनुरोध उपर न्यायाधीशको हैसियतमा प्रस्तावित प्रधानन्यायाधीशको मौनता (जहाँ सबै न्यायमूर्तिहरुको मौनता नै थियो) का कारण उल्लेख भएबमोजिमको न्यायमा विचलनका सम्बन्धमा न्यायपालिका प्रमुखको अग्निपरीक्षाका प्रस्तावित उम्मेदवारको धारणा र योजना महत्वपूर्ण हुने विश्वास लिएको छु ।’
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले चौथो वरियताका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । उनीविरुद्ध पर्सिसम्म उजुरी आह्वान गरिएको छ । समितिका अनुसार भौतिक रुपमा उपस्थित भएर वा हुलाक र इमेलबाट पनि उजुरी पठाउन सकिन्छ ।





