काठमाडौँ । देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंसहित मोरङ, रूपन्देही, झापा, कैलाली, कञ्चनपुर, सुनसरी, धनकुटा र मकवानपुरबाट उनीहरू पक्राउ परेका हुन् ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–८ कुशलचोकबाट ट्रामाडोल दुई हजार २१० ट्याब्लेट र स्पास्पेन दुई हजार ३२० ट्याब्लेटसहित २४ वर्षिय सुशन राई पक्राउ परेका छन् ।
त्यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गजरौलाबाट खैरो हेरोइनजस्तो पदार्थ १८० मिलिग्रामसहित तीन जना पक्राउ परेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका–४ बाट ब्राउनसुगरजस्तो पदार्थ ३५० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–३ मा डेरा गरी बस्ने ४० वर्षिया विष्णु याखालाई करिब ९२ किलो गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।
यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० बसपार्कबाट २१ किलो ३१० ग्राम गाँजासहित पर्साको बिन्दबासिनी गाउँपालिका–४ का ६० वर्षीय लक्चन हजरा पक्राउ परेका छन् । पक्राउ परेकामाथि सम्बन्धित जिल्लामा थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ ।





