नेपाल ब्याडमिन्टन संघद्वारा काठमाडौंमा आयोजित ४२ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मिक्स डबलको उपाधि त्रिभुवन आर्मी क्लबका विधान अधिकारी र अमिता गिरीको जोडीले जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार खेलिएको फाइनल खेलमा उक्त जोडीले फाइलनमा आर्मी क्लबकै प्रफुल महर्जन र रसिला महर्जनको जोडीलाई हराएको हो ।
विधान र अमिताको जोडी २१-११, २०-२२ र २१-१९ को सेटमा विजयी हुँदा प्रफुल र रसिलाको जोडीले उपविजेतामा चित्त बुझाए ।
उक्त स्पर्धामा एपीएफ क्लबका प्रिन्स दाहाल र पूजा थाम्सुहाङको जोडी तथा नेपाल पुलिस क्लबका कबिर केसी र सुष्मा श्रेष्ठको जोडी तेस्रो भए ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका एक सय १५ खेलाडीले विभिन्न पाँच स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।





