बिहान नहुँदै अफगानिस्तानको घोर प्रान्तको राजधानी चाघचारानको एक धुलाम्मे चोकमा सयौं प्रौढ पुरुष जम्मा हुन्छन् । कसैले कुनै काम दिन्छ कि भन्ने आशामा उनीहरु सडक छेउमा उभिन्छन् । उनीहरूका परिवारका सदस्यले त्यो दिन खाना खान पाउँछन् वा पाउँदैनन् भन्ने त्यहीं निर्धारण हुन्छ । तर काम पाउने सम्भावना निकै कम हुन्छ।

४५ वर्षीय जुमा खानले पछिल्ला छ सातामा जम्मा तीन दिन मात्रै काम पाएका छन् । काम पाउँदा पनि मुस्किलले उनको ज्याला प्रतिदिन १५० देखि २०० अफगानी (करिब २.३५ देखि ३.१३ अमेरिकी डलर) हुन्छ । ‘मेरा छोराछोरी लगातार तीन रात भोकै सुत्नुप¥यो । मेरी पत्नी र बच्चाहरू रोइरहेका थिए । त्यसपछि मैले छिमेकीसँग पैसा मागेर पीठो किनें’, उनले भने, ‘मलाई डर लाग्छ, कतै मेरा बच्चाहरू भोकले मर्छन् कि ।’ यो उनको एक्लो पीडा होइन, धेरै अफगानीको हो।
संयुक्त राष्ट्रसंघका अनुसार अहिले चार जनामध्ये तीन अफगानी आधारभूत आवश्यकताबाट पनि विमुख छन् । बेरोजगारी व्यापक छ, स्वास्थ्य सेवा कमजोर छ । मानवीय सहायतामा व्यापक कटौती भएको छ । अफगानिस्तान अहिले इतिहासकै उच्च भोकमरी संकटमा छ । विभिन्न अनुमानअनुसार ४७ लाख अर्थात् अफगानिस्तानको कुल जनसंख्याको १० प्रतिशतभन्दा बढी जनसंख्या भोकमरीको संघारमा छ । यो संकटबाट घोर प्रान्त सबैभन्दा बढी प्रभावित छ, जहाँका सर्वसाधारण निरास र हतासमा बाँचिरहेका छन् । ‘मलाई फोन आयो, मेरा बच्चाहरूले दुई दिनदेखि खाना खाएका छैनन्’, स्थानीय रब्बानी भावुक हँुदै भन्छन्, ‘मलाई आत्महत्या गरूँजस्तो लाग्यो । तर त्यसले परिवारलाई के फाइदा गर्छ भन्ने सोचें । त्यसैले अहिले पनि काम खोज्दै यहाँ आएको छु।’
अर्का स्थानीय ख्वाजा अहमद केही शब्द बोल्ना साथ रुन थाल्छन् । ‘हामी भोकै छौं, मेरा ठुला बच्चाहरू मरे । परिवार पाल्न कडा काम गर्नुपर्छ । तर म बुढो भएँ, कसैले काम दिँदैन’, उनले भने।
चाघचारानस्थित चोक नजिकैको एउटा बेकरी खुल्दा पसलेले भिडमा बासी रोटी बिक्री गर्छन् । पसल खोलेको केही सेकेन्डमै मानिस रोटीमा झुम्मिन्छन् । त्यहीबेला मोटरसाइकलमा आएका एक व्यक्तिले इँटा बोक्न एक मजदुर खोज्छन् । कामका आकांक्षी उनीतिर दौडिन्छन् । बिबिसीको टोली त्यहाँ बसेको दुई घण्टामा जम्मा तीन जनाले मात्र काम पाए।
उजाड पहाडबिच यो क्षेत्रका वरपरका गाउँमा ससाना घरहरू देखिन्छन् । बस्तीहरूमा बेरोजगारीको असर स्पष्ट देखिन्छ । अर्का स्थानयि अब्दुल रसिद अजिमी बिबिसीको टोलीलाई आफ्नो घरभित्र लैजान्छन् र आफ्ना सात वर्षीया जुम्ल्याहा छोरीहरू रोकिया र रोहिलालाई आफूतिर तान्छन् । ‘म छोरी बेच्न तयार छु’, उनी रुँदै भन्छन्, ‘म गरिब छु, ऋणमा डुबेको छु, असहाय छु । सुकेको ओठ, भोक र प्याससहित म कामबाट घर फर्कंदा मेरा बच्चाहरूले बाबा रोटी देऊ भन्छन् । तर म के दिऊँ ? काम कहाँ छ ?’ उनी रोहिलालाई अँगालो हालेर चुम्बन गर्दै भन्छन्, ‘मेरो मन टुटिरहेको छ तर अन्यलाई बचाउने यही एउटा उपाय बेच्ने हो । उनकी पत्नी कायहान थप्छिन्, ‘हामीसँग खानका लागि रोटी र तातो पानी मात्रै छ, चिया पनि छैन ।’ उनका दुई छोरा नजिकैको बजारमा जुत्ता पालिस गर्छन् । अर्का छोरो फोहोर संकलन गर्छन् । फोहोरलाई कायहानले खाना पकाउने इन्धनका रूपमा प्रयोग गर्छिन्।
यसैगरी अर्का स्थानीय सइद अहमदले आफूले पाँच वर्षीया छोरी साइकालाई बेच्न बाध्य भएको बताए । उनलाई एपेन्डिसाइटिस र कलेजोमा सिस्ट भएको थियो । ‘उपचार खर्च तिर्न पैसा थिएन । त्यसैले मैले आफ्नी छोरी आफन्तलाई बेचें’, उनले भने । साइकाको शल्यक्रिया सफल भयो । उपचारका लागि आवश्यक पैसा उनलाई बेचेर प्राप्त भएको २ लाख अफगानी रकमबाट जुटाइएको थियो।
‘मैले त्यो बेला सबै पैसा लिएको भए उसले छोरी तुरुन्तै लग्थ्यो । त्यसैले मैले अहिले उपचारका लागि चाहिने रकम मात्र लिएँ । बाँकी पाँच वर्षपछि दिएर छोरी लैजानु भनेको छु’, अहमदले भने । साइकाले आफ्नो हात बुबाको घाँटीमा राख्छिन् । बाबुछोरीको गहिरो सम्बन्ध स्पष्ट देखिन्छ । तर उनी पाँच वर्षपछि खरिद गरेको आफन्तको घर जानुपर्ने छ । ‘मसँग पैसा भएको भए, यस्तो निर्णय कहिल्यै लिँदैनथें, अहमद भन्छन्, ‘तर मैले सोचें बिक्री गरेको पैसाले शल्यक्रिया गरेपछि कम्तीमा ऊ बाँच्ने त छ।’
केही वर्षअघिसम्म अहमदको परिवारले पीठो, तेल, दाल, बालबालिकाका लागि पोषक आहारलगायतको खाद्य सहायता पाउँथ्यो।
तर पछिल्ला वर्षहरूमा सहायता रकम व्यापक रूपमा कटौती भएपछि अहमद जस्तै लाखौं अफगानी जीवनदायी सहयोगबाट वञ्चित छन्।
एक समय अफगानिस्तानको सबैभन्दा ठुलो दाता रहेको अमेरिकाले गत वर्ष लगभग सम्पूर्ण सहायता बन्द ग¥यो । बेलायतसहित अन्य दातृ राष्ट्रले पनि सहयोग घटाएका छन् । संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार यो वर्ष प्राप्त भएको सहायता सन् २०२५ को तुलनामा ७० प्रतिशतले कम छ । देशका आधाभन्दा बढी प्रान्त प्रभावित हुने गरी भएको खडेरीले संकट झन् गम्भीर बन्ने देखिएको छ । अर्काे स्थानीय अब्दुल मलिक भन्छन्, ‘हामीले कसैबाट सहयोग पाएका छैनौं, न सरकारबाट न गैरसरकारी संस्थाबाट।’
सन् २०२१ मा सत्ता कब्जा गरेको तालिबानले भने समस्याको दोष अघिल्लो सरकारको प्रशासनमाथि लगाएको छ । तालिबान सरकारका उपप्रवक्ता हम्दुल्लाह फित्रतले भने, ‘२० वर्षको युद्धका क्रममा अमेरिकी डलरको प्रवाहका कारण कृत्रिम अर्थतन्त्र बनेको थियो । युद्ध अन्त्यपछि हामीले गरिबी, बेरोजगारी र कठिनाइ विरासतमा पायौं ।’ तर तालिबानकै नीतिहरू, विशेषगरी महिलामाथिका प्रतिबन्धहरू दातृ राष्ट्रहरू टाढिनुको एउटा मुख्य कारण मानिन्छ । तालिबान सरकारले भने मानवीय सहायतामा राजनीतीकरण गर्नु नहुने बताएको छ।
लाखौं अफगानी तत्काल सहयोगबिना बाँच्न नसक्ने अवस्थामा छन् । अर्का स्थानीय मोहम्मद हासमकी १४ महिनाकी छोरीको केही साताअघि मृत्यु भयो । ‘मेरो बच्चा भोक र औषधिको अभावले मरी’, उनले भने । स्थानीय बुढापाकाहरूका अनुसार कुपोषणका कारण बालमृत्युदर पछिल्ला दुई वर्षमा निकै बढेको छ।
चाघचारानको मुख्य अस्पतालमा पनि अवस्था भयावह छ । नवजात शिशु कक्ष सबैभन्दा व्यस्त देखिन्छ । अस्पतालका हरेक शड्ढया भरिएका छन्, कतिपय शड्ढयामा दुईदुई बच्चा राखिएका छन् । धेरैजसो बालबालिका कम तौलका छन् । उनीहरूले सास फेर्न संघर्ष गरिरहेको देखिन्छ । अस्पतालकी एक नर्सले दुई महिनाअघि समयअगाडि नै जन्मिएका जुम्ल्याहा बच्ची ल्याउँछिन् । एकको तौल २ किलो र अर्कीको १ किलो थियो । उनीहरूलाई तुरुन्त अक्सिजन सपोर्टमा राखियो । जुम्ल्याहाकी बच्चीकी २२ वर्षीया आमा साकिला प्रसूति वार्डमा उपचाररत छन् । जुम्ल्याहा बच्चीकी हजुरआमा गुलबदन भन्छिन्, ‘गर्भवती हुँदा बुहारीले रोटी र चियाबाहेक केही खान पाइनन् । त्यसैले बच्चीहरू यस्तो अवस्थामा जन्मिए।
केही घण्टापछि जुम्ल्याहामध्ये ठुली बच्चीको मृत्यु भयो, जसको नाम राख्न बाँकी नै थियो । ‘डाक्टरहरूले बचाउने प्रयास गरे तर ऊ मरी’, हजुरआमा गुलबदनले अर्को दिन भनिन्, ‘मैले मरेकी नातिनीलाई कपडामा बेरेर लगें । आमाले थाहा पाएपछि बेहोस भइन् ।’ अर्की बच्चीलाई देखाउँदै गुलबदन भन्छिन्, ‘कम्तीमा यो बाँचोस् भन्ने आशा छ।’
नर्स फातिमा हुसेनीका अनुसार कहिलेकाहीं एकै दिन तीन जनासम्म शिशुको मृत्यु हुन्छ । ‘सुरुमा बच्चाहरू मर्दा धेरै गाह्रो लाग्थ्यो । अहिले त यो हाम्रा लागि सामान्यजस्तै भइसकेको छ’, उनले भनिन् । नवजात शिशु कक्ष सञ्चालन गर्ने डा. मोहम्मद मोसा ओलदात भन्छन्, ‘मृत्युदर १० प्रतिशतसम्म पुग्छ, जुन कुनै पनि हिसाबले स्वीकार्य होइन । गरिबी छ, बिरामीको चाप हरेक दिन बढिरहेको छ तर हामीसँग पर्याप्त स्रोत छैन।’
बाल सघन उपचार कक्षमा ६ साताको उमेरका जामीर मेनेन्जाइटिस र निमोनियासँग लडिरहेका छन् । दुवै रोग उपचारयोग्य भए पनि अस्पतालसँग आवश्यक एमआरआईलगायत उपकरण छैनन् । सरकारी अस्पतालमा बिरामीका लागि औषधि पनि छैन । परिवारले बाहिरको फार्मेसीबाट औषधि किन्नुपर्छ।
नर्स हुसेनी भन्छिन्, ‘कहिलेकाहीं धनी परिवारका बच्चालाई पुगेर बचेको औषधि हामी गरीब परिवारका बच्चालाई प्रयोग गर्छौं।’
आर्थिक अभावले गरिब परिवार संकटमा छन् । गुलबदनकी नातिनीको स्वास्थ्यमा केही सुधार आए पनि परिवारले अस्पताल खर्च धान्न नसकेपछि उनलाई घरमा लगे । जामीरलाई पनि उनका अभिभावकले यसै कारण घर लगे । अब उनीहरूले जीवनको लडाइँ आफ्नै बलमा लड्नुपर्ने छ।
(बिबिसी)





