ढाका । मध्य बङ्गलादेशमा प्रमुख राजमार्गमा सोमबार बिहान भएको भीषण ट्रक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । फलामको रड र अतिरिक्त यात्रु बोकेको उक्त ट्रक अनियन्त्रित भई पल्टिँदा ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ ।

दुर्घटना राजधानी ढाकाबाट करिब ८३ किलोमिटर उत्तर–पश्चिममा पर्ने टाङ्गैल जिल्लाको सोराटोल क्षेत्रमा बिहान करिब ५ बजे भएको हो । स्थानीय प्रहरी प्रमुख फुआद हुसेनका अनुसार चालकले नियन्त्रण गुमाएपछि ट्रक सडकमा पल्टिएको थियो ।उहाँका अनुसार ट्रकले हिचहाइक (यात्राका लागि लिफ्ट लिएका) यात्रुहरू बोकेको थियो र ढाकाबाट उत्तरी क्षेत्रतर्फ जाँदै थियो । दुर्घटनापछि घटनास्थलमै धेरै यात्रुको मृत्यु भएको पुष्टि गरिएको छ ।घटना इस्लामिक पर्व ईद अल–अधा अघि यात्रुहरूको चहलपहल बढिरहेका बेला भएको हो । आगामी बिहीबार मनाइने उक्त पर्वका लागि धेरै मानिसहरू आफ्नो परिवारसँग भेट्न देशभर यात्रा गरिरहेका छन् ।





