काठमाडौं । प्रेस चौतारी नेपालले प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि राज्य संयन्त्रको दुरुपयोग गर्दै धरपकडको तयारी भएको प्रति आफनो ध्यानाकर्षण भएको जनाएको छ ।

संगठनका महासचिव हिरामान लामाद्वारा जारी बिज्ञप्तिमा निरन्तर धम्की, निगरानी तथा मानसिक दबाब सिर्जना गर्ने कार्यप्रति कडा आलोचना गरिएको छ ।
जनआस्था साप्ताहिक तथा जनआस्था डटकममा प्रकाशित समाचारलाई आधार बनाएर गृह मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्रीको निर्देशनमा पत्रकार श्रेष्ठलाई लक्षित गरी धरपकड, धम्की तथा समाचार स्रोत खुलाउन बाध्य पार्ने प्रयास भइरहेको भन्ने सूचना अत्यन्त आपत्तिजनक, अलोकतान्त्रिक तथा स्वतन्त्र प्रेसमाथिको प्रत्यक्ष प्रहार भएको हाम्रो ठहर छ बिज्ञप्तिमा उल्लेख छ ।
राज्य शक्तिको आडमा सञ्चारमाध्यम तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध भइरहेका योजनाबद्ध दबाब, प्रतिशोध र षड्यन्त्रको प्रेस चौतारी नेपाल घोर निन्दा तथा भत्र्सना गर्दछ ।
पत्रकार श्रेष्ठले आफूमाथि उठाइएका आरोपहरूको निष्पक्ष छानबिनको माग गरिरहँदा उल्टै धम्की, निगरानी र दबाब बढ्नुले सरकारको व्यवहार तथा न्याय प्रणालीको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको बिज्ञप्तिमा उल्लेख छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर पार्ने, पत्रकारलाई धम्क्याउने, मानसिक यातना दिने तथा सञ्चारमाध्यममाथि अविश्वास सिर्जना गर्ने कुनै पनि गतिविधिविरुद्ध सम्पूर्ण सञ्चारकर्मी, नागरिक समाज, मानवअधिकारकर्मी तथा लोकतन्त्रप्रेमी शक्तिहरूलाई दृढतापूर्वक एकजुट हुन हार्दिक आह्वान गर्दछौँ ।
प्रेस चौतारी नेपाल सम्पूर्ण घटनाको स्वतन्त्र, निष्पक्ष तथा उच्चस्तरीय छानबिन गरी दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछ ।
संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्दै श्रमजीवी पत्रकारमाथि कुनै पनि प्रकारको धाकधम्की, प्रतिशोध वा अनावश्यक हस्तक्षेप तत्काल बन्द गर्न सबै पक्षसँग आग्रह गर्दछौँ भनिएको छ ।





